दबाब, अभाव र प्रभावबाट न्यायालयलाई मुक्त गर्नुपर्छः प्रस्तावित न्यायाधीश पोखरेल

काठमाडौं, २ पुस। सुनिलकुमार पोखरेलमाथिको संसदीय सुनुवाइ सुरु भएको छ । उनी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश हुन् । समितिको कार्यालय सिंहदरबारमा जारी सुनुवाइमा प्रस्तावित न्यायाधीश पोखरेलले आफ्नो कार्य योजना प्रस्तुत गरेका छन् ।

३ दशकदेखि आफू न्याय क्षेत्रमा क्रियाशील रहेको बताउँदै उनले समितिको बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै छन् । त्यसक्रममा उनले न्यायालय दबाब, अभाव र प्रभावबाट मुक्त हुनुपर्ने बताए ।

‘छिटो छरितो न्यायका लागि लामो समय पर्खनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । त्यसका लागि विधायिकाले पनि सहयोग गर्नुपर्छ’, पोखरेलले कार्य योजनामा भनेका छन्, ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो भन्ने मान्यतामा म विश्वास गर्छु र न्याय छिटो दिन पहल गर्छु ।’

उनले छिटो न्याय दिनका लागि ‘लिड लयर’को व्यवस्था गरी बहस छोटो बनाउन पहल गर्ने समेत बताएका छन् ।

विकास निर्माणमा हुने अन्तरिम आदेश र अल्पकालीन अन्तरिम आदेशमा न्यायिक सक्रियता र संयमता अपनाउन दृढ रहने पनि प्रस्तावित न्यायाधीश पोखरेलको भनाइ छ ।

‘न्यायका प्रत्याभूतिका लागि फैसला कार्यान्वयनको गति बढाउन आवश्यक छ’, पोखरेलले भनेका छन् । न्यायपरिषदबाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका चार न्यायाधीशको सुनुवाइ भैसकेको छ । पोखरेलसहित वालकृष्ण ढकालको सुनुवाइ सकिएपछि समितिले अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्