संसदमा सरकारद्वारा एकल आमाको नामबाट नागरिकता पाउने विधेयक दर्ता

काठमाडौं, २३ माघ । सरकारले बाबु बेपत्ता भएका वा नियतवश नाता प्रमाणित नहुँदा नागरिकता पाउनबाट वञ्चित रहेका हजारौं युवालाई सहज नागरिकता प्राप्तिका लागि कानूनी व्यवस्था गर्न विधेयक ल्याएको छ ।

संसद अधिवेशन शुरू भएलगत्तै गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गराएका हुन् । यो विधेयक पारित भएपछि आमाको नामबाट नागरिकता पाउने बाटो थप सहज हुनेछ ।

पछिल्लो समय उच्च र सर्वोच्च अदालतले नागरिकता पाउनबाट वञ्चित युवा युवतीको पक्षमा फैसला गर्ने तर नागरिकता ऐन देखाएर वडाबाट सिफारिस तथा जिल्ला प्रशासनबाट नागरिकता नदिइने कारण देशभर हजारौं शिक्षित युवा पीडित भएका छन् ।

अब कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि उनीहरूका बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी स्वःघोषणा गरेमा त्यस्ते व्यक्तिले बंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था विधेयकमा छ ।

विशेषगरी यहि समस्याबाट धेरै युवा पीडित छन् र उनीहरूले पढाइलेखाइ गरेर पनि नागरिकता नपाएका कारण जागिर खान तथा विदेश जान पाएका छैनन् ।

अस्पतालमा जन्मिदा बाबुको नाम उल्लेख हुने र सोही आधारमा विद्यालय भर्ना गर्दा पनि बाबुको राखिने गरिएको छ । तर, यसबीचमा दोस्रो बिहे गरेर पहिलो श्रीमती र सन्तानलाई प्रमाण नपुग्ने आधारमा अधिकारबाट बन्चित गर्ने प्रवृतिका पुरुषले गर्दा उनीहरु नागरिकताबाट वञ्चित हुने गरेका छन् ।

यस्तो समस्याबाट पीडित युवाले बाबुको ठेगान नभएको भनी आमाको नामबाट नागरिकता लिन जाँदा जिल्ला प्रशासनले फर्काउने र वडाले सिफारिस गर्न समेत नमान्ने अवस्थामा अदालत जाने गरेका छन् । अदालतले नागरिकता दिनू भने पनि अनेक कारण कानून प्रष्ट नभएको भन्दै नागरिकताबाट वञ्चित गरिएको गुनासोलाई सरकारले अब कानून बनाएरै सम्बोधन गर्न लागेको हो ।

अब त्यस्ता युवा युवती र उनका आमाले बाबु बेपत्ता वा पहिचान नभएको भनी स्वघोषणा गरेमा प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए पनि नागरिकतामा आमाको मात्र नाम उल्लेख गरेर नागरिकता दिन मिल्नेछ । आमाको पहिचान नभएको हकमा पनि सोही व्यवस्था लागु हुनेछ ।

प्रस्तावित विधेयकमा बाबु वा आमा मध्ये एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको जन्मको आधारमा नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा बाबुले जन्मको आधारमा नागरिकता पाएर आमा सम्पर्कविहीन भएको व्यक्तिको हकमा पनि सन्तानले नागरिकता पाउन सहज बनाइएको छ ।

त्यस्तै कुनै व्यक्तिले नागरिकता प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेमा उसको निवेदनबमोजिम उल्लेख नगरी दिनुपर्ने व्यवस्था समेत विधेयकमा छ । विधेयकमा नाबालक परिचयपत्रको हकमा समेत केही संशोधन गरिएको छ । बाबु वा आमामध्ये एकजना नेपाली नागरिक रहेको १६ वर्षमुनिको नाबालकलाई नाबालकलाई नाबालक परिचयपत्र दिनुपर्नेछ ।

नेपाली नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान भएको व्यक्तिपले पनि बाबुको पहिचान नरहेको भनी स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्