वरिष्ठताका आधारमा इजलास गठनमा फेरि सरकारी पक्षको आपति
काठमाडौं, जेठ २३ । संसद् विघटनसम्बन्धी परेका ३० रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासबारे फेरि सरकार पक्षले आपति जनाएको छ ।
आइतबार वरिष्ठताक्रम अनुसार गठित इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र डा। आनन्दमोहन भट्टराईलाई राख्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीले बताएका छन् ।
इजलास १२ बजेतिर शुरु भएको थियो । तर शुरुमै महान्यायाधिवक्ता र केही कानुन व्यवसायीले आइतबार गठित इजलासमा प्रश्न उठाएका हुन्। कानुन व्यवसायीले ११ जना न्यायाधीश बस्न नमिल्ने बताएका छन् । महान्यायाधिवक्ता बडालले पहिलेकै इजलासबाट सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।
महान्यायाधिवक्ता रमेश बडालले आफूहरुलाई आइतबार गठन भएको संवैधानिक इजलासप्रति आशंका रहेको बताएका छन् । ‘पूर्वाग्रहको आशंका भए पुग्छ भने आनन्दमोहन श्रीमानले नै लेख्नुभएको छ । हामीलाई यो इजलासमा आशंका छ’, आइतबार संवैधानिक इजलासमा बहसका क्रममा उनले भने ।
यसअघि गत मंगलबार प्रधानन्यायाधीश राणाले अब इजलास पुनर्गठन गरेर सुनुवाइ हुने जानकारी गराउँदै अब विवाद ननिकाल्न दुवै पक्षलाई आग्रह गरेका थिए । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई राखेर प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठन गरेका थिए ।
यसअघिको इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि उनीहरुलाई नराखी आइतबार इजलास पुनर्गठन भएको थियो । केसी र श्रेष्ठमाथि रिट निवेदक पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । तर यी दुई न्यायाधीशले भने प्रश्न उठे पनि इजलास छाड्नुपर्ने कारण नभएको जिकिर गरेका थिए । उनीहरुले इजलास छाड्न नमानेपछि वरिष्ठ न्यायाधीश कार्की र भट्टराईले विवादित इजलास छाडेका थिए ।
तर प्रधानन्यायाधीश वरिष्ठताक्रमअनुसार इजलास गठन गर्न सहमत भएपछि उनीहरु पुनः संसद् विघटनको मुद्दा सुनुवाइमा सहभागी भएका हुन् । यसअघि गत १४ गते गठन गरेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ थिए ।
तर नेकपा नामको विवादमा पार्टी नै विभाजन गर्ने फैसलामा संलग्न श्रेष्ठ र त्यसको पुनरवलोकन अस्वीकार गर्ने निर्णयमा संलग्न केसीले अहिले संसद् विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै निवेदक पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । सोही कारण प्रधानन्यायाधीशले उनीहरु विनै वरिष्ठताक्रमअनुसार इजलास गठन गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशपछिको वरीयतामा क्रमशः दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । तेस्रो वरीयतामा रहेका हरिकृष्ण कार्की केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री रहेका बेला महान्यायाधिवक्ता रहेका कारण र चौथोक्रममा रहेका न्यायाधीश श्रेष्ठ अस्वस्थका कारण इजलासमा छैनन् ।
प्रतिक्रिया दिनुहोस्