छवि र शिल्पाको मुद्दा मिल्यो, छविले दियो करोडौं मूल्य पर्ने घर सिल्पालाई

काठमाडौं । निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच लामो समयदेखि चलिरहेको सम्बन्धविभ्छेद र सम्पत्तिको मुद्दा किनारा लागेको छ । निकट स्रोतका अनुसार छवि शिल्पालाई आफ्नो करोडौं मूल्य पर्ने घर दिन सहमत भएका छन् ।

उनीहरुले दशैं अगाडि गरेको सम्झौता अहिले सार्वजनिक भएको हो । दुवैले यस विषयलाई गोप्य नै राख्न चाहेका थिए । अंशबन्डाको कानूनी प्रक्रिया जारी रहँदा छविले आफ्नो सम्पत्ति उपभोग गर्न पाइरहेका थिएनन् भने उनको बैंक खाता पनि रोक्का थियो । डिभोर्स टुंगिएसँगै दुवै आ-आफ्नो बाटो लागेका छन् ।

शिल्पाले प्राप्त गरेको घर काठमाडौंको गौरीघाटमा रहेको छ । करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घरको मूल्य झण्डै चार करोड पर्ने स्रोतले बतायो ।

‘शिल्पा ४० लाख रुपैयाँ आफैंले खर्चेर मर्मतसम्भार गरेपछि सो घरमा सरिसकेकी छन्’, स्रोतले भन्यो । छविले आफूभन्दा उमेरले ३० वर्ष कान्छी शिल्पासँग २०७३ साल असार २९ गते गोप्य रुपमा विवाह गरेका थिए । एउटा हात भाँच्चिएर प्लास्टर गरेको अवस्थामै उनले लगनगाँठो कसेको तस्विर तीन वर्षपछि मात्रै सार्वजनिक भयो, जतिबेला उनीहरुको सम्बन्ध बिग्रिसकेको थियो ।

२०७६ साल असारमा शिल्पाले आफू श्रीमानबाटै असुरक्षित गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । विभिन्न मिडियामा रुँदै अन्तर्वार्ता दिएर उनले छविबाट घरेलु हिंसामा परेको दाबीसमेत गरेकी थिइन् ।

सोही वर्ष शिल्पाले छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद र मानाचामलको मुद्दासमेत हालिन् । २०७९ सालमा अदालतले शिल्पाको पक्षमा फैसला सुनायो । अदालतले डिभोर्सको माग स्वीकार्दै छविले आफ्नो आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने आदेश गर्‍यो ।

साथै छविको ऋणको आधा अंश पनि शिल्पाले स्वीकार्नुपर्ने फैसला थियो । छविले अदालतमा आफ्नो १० करोड ऋण देखाएका थिए ।

अंशबन्डामा कुरा नमिल्दा लामो समयसम्म मुद्दा किनारा लाग्न सकेको थिएन । शिल्पाको डिमान्ड चर्को थियो भने छविको अडान अर्को थियो । अन्ततः शिल्पाले विशुद्ध एउटा घरमै चित्त बुझाएकी छन् । दुई जनाको कुरा नमिल्दा मुद्दा लम्बिएर आआफ्नो हिसाबले जीवन अगाडि बढाउन असहज भएपछि उनीहरु सम्झौताको बिन्दुमा पुगेका हुन् ।

श्रीमतीलाई घर सुम्पिएपछि छवि अहिले डेरामा बस्दै आएको स्रोतले बताएको छ । उनी अहिले फेरि नितान्त एक्लै छन् । श्रीमतीसँगको कानूनी संघर्ष समाप्त भएसँगै उनी फेरि चलचित्रमा कमब्याक गर्न लागेका छन् । उनले ‘मंगलम २’ नामक चलचित्रको घोषणा गरिसकेका छन् ।

६० वर्षमा हिँडिरहेका छविको निजी जीवन अस्तव्यस्त रहँदै आएको छ । उनले चार विवाह गरे, तर चारै वटा असफल भए ।

छविकी चौंथो श्रीमती हुन् शिल्पा । छविको पहिलो विवाह हेमा नामकी युवतीसँग भएको थियो । १९ वर्षकै उमेरमा छविले हेमासँग प्रेम विवाह गरेका हुन् । हेमाबाट दुई सन्तान पनि रहेको बताइन्छ । विवाह गरेको १० वर्षपछि कुरा नमिलेर छवि र हेमा अलग भएका थिए ।

गुमनाम जीवन बाँचिरहेकी हेमा तीन बर्षअगाडि अचानक सार्वजनिक भइन् । उनले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा हालिन् । अदालतले उनीहरु दुवैलाई पक्राउ पूर्जि जारी गरेको थियो । यद्यपि, उनीहरु पक्राउ परेनन् । पछि अदालतले हेमाको विपक्षमा फैसला सुनायो । उनीसँग छविको सम्वन्ध विच्छेद भइसकेको ठहर अदालतले गरेको थियो ।

हेमापछि दोस्रो श्रीमतीका रुपमा छविले गीताञ्जली सुनारलाई भित्र्याए । आफैंले निर्माण गरेको चलचित्र ‘नाता’ मा उनले गीताञ्जलीलाई नायिका बनाएका थिए । फिल्म निर्माणकै क्रममा उनीहरुको सम्बन्ध झांगियो । २०५० सालमा उनीहरुले विवाह गरे, तर विवाह गरेको पाँच वर्षपछि गीताञ्जलीले आत्महत्या गरिन् । छवि फेरि एक्लिए । गीताञ्जलीबाट एक छोरा छन्, जो अहिले रिह्याभमा बसिरहेको बताइन्छ ।

गीताञ्जलीपछि छविको जीवनमा आइन् अभिनेत्री रेखा थापा । रेखालाई पनि फिल्ममा उनैले ल्याएका हुन् । आफूले निर्माण गरेको ‘हिरो’ नामक चलचित्रमा उनले रेखालाई हिरोइन बनाएका थिए । पछि दुलही बनाए । रेखा रातारात स्टार बनिन् । नेपाली चलचित्रकै नम्बर एक नायिकाको रुपमा रेखाको नाम लेखियो, तर दाम्पत्य सम्बन्धमा दरार आयो ।

२०७३ सालमा उनीहरुले डिभोर्स गरे । त्यसबेला छविको जीवनमा शिल्पा पोखरेल आइसकेकी थिइन् । शिल्पासँगको विवाह गर्ने भएपछि छविले रेखासँगको सम्बन्ध कानूनी रुपमा टुंग्याए । सम्बन्ध विच्छेद गर्दा आफूले छविबाट केही पनि नलिएको दाबी रेखाले गर्दै आएकी छन् । छवि निकटहरु भने उनले ६५ लाख रुपैयाँ लिएको बताउँछन् । उनीहरुबाट कुनै सन्तान भएनन् । रेखाले अहिले अर्को बिहे गरेर सन्तान पनि जन्माइसकेकी छन् ।

शिल्पालाई पनि छविले नै चलचित्रमा भित्र्याएका हुन् । आफूले निर्माण गरेको चलचित्र ‘लज्जा’ मा उनले रेखा जस्तै अनुहार भएकी शिल्पालाई खोजेका थिए । चलचित्रमा डेब्यु गराएपश्चात बिहे गर्ने आफ्नो शैलीलाई उनले निरन्तरता दिए ।

प्रतिक्रिया दिनुहोस्