इटहरीमा अमेरिकी पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित २ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१ वर्षीय रोहन बस्नेत रहेका छन्।

इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले नौ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो।

इटहरी–९ स्थित बसपार्कमा युवाहरु झगडा गर्न लागेको सूचनाका आधारमा प्रहरीको टोलीले सो क्षेत्रमा निगरानी बढाएको थियो। प्रहरीले निगरानीका क्रममा लिम्बूको साथबाट अमेरिकी अटोमेटिक पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिए।

पक्राउ परेका लिम्बू यसअघि पनि ज्यान मार्ने अभियोगमा तीन वर्ष जेल सजाय पाएका व्यक्ति हुन् ।

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको प्रनाउ राउतले बताए।

प्रतिक्रिया दिनुहोस्