डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौं, २१ असार । डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो ।
बाढीमा परेर घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदा गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।
उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक , ४८ वर्षीय विष्णु विक , १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरुको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ ।
स्थानीयका अनुसार बाढीले करिब १५१६ मिटरसम्म बगाएको थियो, जसका कारण घाइतेहरुको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना, नेपाली सेनाको १० जना र सशस्त्र प्रहरीको बल ११ जना बिहानै घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्