देउवा समूहले पार्टीको नाम, झण्डा र रुख चिह्नको दुरुपयोग गरेको भन्दै रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने
काठमाडौँ, १० मङ्सिर। नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको नाम, झन्डा र रुख चिह्नको दुरुपयोग गरेको भन्दै रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गर्ने भएको छ।
सानेपामा जारी केन्द्रीय समिति बैठकले पार्टीको नाम, चुनाव चिन्हको दुरुपयोग भइरहेको निष्कर्ष निकालेको केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले बताए।
देउवा समूहले कांग्रेसकै नाममा मंसिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्दै छ। त्यसलाई रोक्न यस्तो निर्णय भएको हो ।
उनले भने, ‘१५औँ महाधिवेशनबाट निर्वाचित भएर आएको गगन थापाको नेतृत्वको नेपाली कांग्रेस अहिले केन्द्रीय कार्यसमितिको बैठक बसिराखेको छ। एउटै पार्टीको नाम, चुनाव चिन्ह र झन्डा प्रयोग गरेर अन्त पनि गतिविधि सञ्चालन हुनु भनेको दुरुपयोग हो।’
देउवा समूहले गरिरहेको दुरुपयोग रोक्ने काम निर्वाचन आयोगको भएकाले रोक्न केन्द्रीयको बैठकबाट निर्णय गरेर रोक्न आग्रह गर्ने बताए।
उनले थपे, ‘कांग्रेसको नाम, कांग्रेसको चुनाव चिन्ह र झन्डा कहीँ कसैले दुरुपयोग गर्न पाइँदैन। जसले नेपाली कांग्रेसको नाम हुँ भनेर गतिविधि गरिरहेका छन्, उहाँहरू नेपाली कांग्रेस होइन, नेपाली कांग्रेस हौँ भन्ने उहाँहरूलाई कुनै अधिकार छैन।’
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पार्टीविरुद्धका गतिविधिमा सहभागी हुन नपाउने बताए।
उनले थपे, ‘यदि उहाँहरू नियमित नेपाली कांग्रेसको गतिविधिमा फर्किनुभएन भने प्रक्रियागत ढङ्गबाट विधानबमोजिम अनुशासन समितिले कारबाही गर्नेछ। अनुशासन समितिको कारबाहीसँगै निर्वाचन आयोगलाई उहाँहरूलाई पदमुक्त गर्छ।’























प्रतिक्रिया दिनुहोस्