बाजुराको बडिमालिका बाढी बस्तीमा १३ परिवार जोखिममा, उद्धार गरियो
काठमाडौं, ८ असार । बाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो । उनीहरुलाई तत्काल नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयकै घरमा राखिएको डिएसपी बोहराले जानकारी दिइन् ।
१३ मध्ये तीन घर भने बाढीको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुरामा १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् ।
सडक पनि अवरुद्धःयसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका दुई ठाउँमा सडक अवरुद्ध भएको छ । बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडि पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्