‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्नपश्न गर्छौ, उत्तर खोज्छौं’ – सभापति थापा

काठमाडौं, ८ मंसिर । काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथि प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हुन् ।

सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको बताउँदै उनले त्यसबाट आफू नडराउने स्पष्ट पारे । आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन उनले चुनौती दिए । राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दै कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको उनले बताए ।

माओवादी सशस्त्र द्वन्द्वकाल र केपी ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको उल्लेख गर्दै उनले शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भए पनि आफू पछि नहट्ने धारणा राखे । सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप पनि उनले लगाए ।

हल्ला र चुनौतीबारे सभापति थापाले भने, ‘अहिले पनि साथीहरूले बेलाबेलामा सम्झाउनुहुन्छ, सरकार एकदम कडा छ, सरकार एकदम लोकप्रिय छ, सरकार एकदम शक्तिशाली छ, प्रश्न गर्‍यो भने तल–माथि हुन सक्छ ।’

अलिकति प्रश्न गर्न सुरु गर्दा साँच्चिकै साथीभाइहरू यसो तल–माथि कथा–पटकथा, अडियो–भिडियो सबै आउन थालेको बताउँदै उनले भने, ‘अनि साथीहरूले भन्नुभयो, तपाईँलाई पोखरा लैजाला, तपाईँलाई समात्ला ।’

पोखरा समात्ला भन्ने साथीहरूलाई आफूले जवाफ दिएको उल्लेख गर्दै उनले भने, ‘पक्रँदै गर्दा खाली हात चाहिँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न, यत्ति कुरा मात्रै हो, न नेपाली कांग्रेस पार्टीले आफ्नो चरित्र गुमाउँछ, न कांग्रेसको सभापतिले आफ्नो चरित्र गुमाउँछ ।’

दोषीलाई कारबाही गर्ने कुरामा आफूहरू सरकारसँगै रहे पनि राजनीतिक प्रतिशोध साँधे प्रतिकारमा उत्रिने चेतावनी सभापति थापाले दिए । सत्ता निकटलाई उन्मुक्ति
राज्यले विगतका कमजोरीबारे गरिरहेको अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने स्पष्ट पार्दै उनले अनुसन्धान कानुनअनुसार हुनुपर्ने बताए । तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने उनले बताए ।

अनुसन्धान र विधिको शासनबारे सभापति थापाले भने, ‘सरकारले कतिपय विषयका सन्दर्भमा अहिले राज्यले अनुसन्धान गरिरहेको छ, नेपाली कांग्रेस पार्टी प्रस्ट छ ।’

विगतमा कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कांग्रेसभित्रै कोही मान्छे कांग्रेस भएको वा देउवाको नजिक भएको कारणले छुट पाउनु हुँदैन भन्ने आवाज उठाएको स्मरण गराउँदै उनले भने, ‘विधिको शासनले जे भन्छ, त्यो गर्नुपर्छ ।’

केपी ओली प्रधानमन्त्री हुँदा पनि कोही मान्छे ओलीसँग नजिक भएको वा एमाले भएको कारणले छुट पाउनु हुँदैन भनेको उल्लेख गर्दै उनले भने, ‘आज हामीले भन्नुपर्दैन, कोही मान्छे प्रधानमन्त्री बालेन साहसँग नजिक भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन अहिले हामीले, कोही मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीको भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन हामीले ।’

अनुसन्धानमा सहकार्य र संयन्त्रको प्रयोगबारे उनले भने, ‘नेपाली कांग्रेस पार्टी कुनै पनि अनुसन्धानमा अवरोध गर्दैन, मेरो होला, अर्काको होला, जोसुकैको होला, विधि कानुनले जहाँ अनुसन्धान गर्नुपर्छ भन्छ, त्यहाँ अनुसन्धान हुन्छ, कानुनले जसको अनुसन्धान गर्नुपर्छ भन्छ, त्यसको अनुसन्धान हुन्छ ।’

तर राजनीतिक प्रतिद्वन्द्वीलाई तह लगाउन राज्यका संयन्त्र प्रयोग गर्ने कुरामा आफूहरूको प्रश्न रहने उल्लेख गर्दै उनले भने, ‘त्यहाँभित्र हामी उत्तर खोज्छौँ, त्यहाँभित्र हामी जवाफ खोज्छौँ, राज्यका संयन्त्रहरूको दुरुपयोग भएको ठाउँमा हाम्रो प्रश्न रहन्छ, हामी त्यहाँ उत्तर खोज्छौँ, राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो चलाउन खोज्दै गर्दा हाम्रो प्रश्न रहन्छ, हामी जवाफ खोज्छौँ ।’

आफ्नो कुरा उठाउँदा पार्टीलाई नाफा वा घाटा के हुन्छ भन्ने हिसाबकिताब नगर्ने उल्लेख गर्दै सभापति थापाले भने, ‘यो धेरै नाफा घाटाको कुरा गर्ने हो भने त कांग्रेसमै रहँदैन, यी सबै कुराहरूमा घाटा कहाँ हुन्छ, नाफा कहाँ हुन्छ हेर्ने होइन, हामीले सत्य के हो, न्याय के हो, हाम्रो कर्म के हो त्यो ठाउँमा कांग्रेसले उभ्याउने हो, नाफा–घाटा भए हुन्छ, नभए हुँदैन ।’

कांग्रेसले सरकारका राम्रा काममा साथ र सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने सभापति थापाले स्पष्ट पारे । सरकारमा रहेका व्यक्तिहरूले कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर आफ्नो आलोचनात्मक भूमिका कमजोर बनाउन खोजे त्यो प्रयास सफल नहुने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्