शुल्क पुनरवलोकन र सिट निर्धारणमा विवाद : निजी मेडिकल कलेजले भर्ना रोक्ने, विद्यार्थी अन्योलमा

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा सिट निर्धारणको पारदर्शिता र शिक्षण शुल्क पुनरवलोकनको विषयलाई लिएर पुनः विवाद चुलिएको छ । निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन ‘एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपाल’ले आफ्ना माग सम्बोधन नभएसम्म नयाँ विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन नसक्ने घोषणा गरेपछि चिकित्सा शिक्षा क्षेत्रमा अन्योल सिर्जना भएको हो ।

एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई तत्काल भर्ना प्रक्रिया अघि नबढाउन आग्रह गर्दै सिट निर्धारणको आधार सार्वजनिक गर्न र शिक्षण शुल्क पुनरवलोकन गर्न माग गरेको छ ।

आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहको एकीकृत प्रवेश परीक्षा २०२७ अन्तर्गत एमबीबीएस, बीएएमएस, बीएस्सी नर्सिङ, बीअप्टोमेट्रीलगायत विभिन्न कार्यक्रमको नतिजा सार्वजनिक गरिरहेको छ । प्रवेश परीक्षाको नतिजा प्रकाशित भइसकेपछि विद्यार्थी भर्नाको तयारीमा रहेका बेला निजी कलेजहरूको घोषणाले हजारौँ विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको छ ।

सिट निर्धारणको मापदण्ड सार्वजनिक गर्न माग

निजी मेडिकल कलेज सञ्चालकहरूले सिट निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाएका छन् । आयोगले गत असोज ३० गते सिट निर्धारणसम्बन्धी सूचना जारी गरे पनि सिट निर्धारणका लागि प्रयोग गरिएका मापदण्ड, मूल्याङ्कनका सूचक, प्रत्येक सूचकको भार र गणना विधि सार्वजनिक नगरेको उनीहरूको भनाइ छ ।

एसोसिएसनले प्रत्येक शिक्षण संस्थाको छुट्टाछुट्टै मूल्याङ्कन विवरण अर्थात् ‘इन्डिभिजुअल कलेज स्कोर कार्ड’ सार्वजनिक गर्न माग गरेको छ । कुन कलेजको सिट किन बढाइयो, यथावत् राखियो वा कटौती गरियो भन्ने आधार र कारणसमेत आयोगको वेबसाइटमा उपलब्ध हुनुपर्ने उनीहरूको माग छ ।

मूल्याङ्कनको विस्तृत विवरण सार्वजनिक भएमा कलेजहरूले आफ्नो शैक्षिक गुणस्तर, जनशक्ति र भौतिक पूर्वाधारको अवस्था मूल्याङ्कन गरी सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सक्ने एसोसिएसनको तर्क छ ।

पाँच वर्षमा महँगी २६ प्रतिशतभन्दा बढी, शुल्क पुरानै

विवादको अर्को मुख्य विषय शिक्षण शुल्क पुनरवलोकन हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ र चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम २३ ले शिक्षण संस्थाको वास्तविक लागत, सञ्चालन खर्च, मुद्रास्फीति, भौगोलिक अवस्था र छात्रवृत्तिको भारलाई आधार मानेर शुल्क निर्धारण तथा पुनरवलोकन गर्नुपर्ने व्यवस्था गरेको छ ।

निजी कलेज सञ्चालकहरूका अनुसार पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार मुद्रास्फीति दर करिब २६.६४ प्रतिशतले बढेको छ । तर शिक्षण शुल्क भने अपेक्षित रूपमा समायोजन हुन सकेको छैन ।

यस अवधिमा चिकित्सक, नर्स तथा अन्य कर्मचारीको पारिश्रमिक, न्यूनतम ज्याला, विद्युत्, इन्धन, प्रयोगशाला उपकरण, विश्वविद्यालय शुल्क र अस्पताल सञ्चालन खर्चमा उल्लेख्य वृद्धि भएको कलेज सञ्चालकहरूको दाबी छ ।

त्यसैगरी छात्रवृत्ति, निःशुल्क शय्या र स्वास्थ्य शिविरजस्ता सामाजिक दायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले पुरानै शुल्कमा संस्था सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ ।

एसोसिएसनले शुल्क र सञ्चालन खर्चबीच ठूलो अन्तर सिर्जना भएकाले आर्थिक रूपमा कलेजहरू दबाबमा परेको जनाएको छ ।

कार्यदलको सिफारिस र पुराना सहमति कार्यान्वयन नभएको गुनासो

निजी कलेज सञ्चालकहरूले चिकित्सा शिक्षा आयोगको १८औँ पूर्ण बैठकबाट गठित शुल्क तथा सिट पुनरवलोकन कार्यदलले स्नातक र स्नातकोत्तर तहको शुल्क समायोजनसम्बन्धी सिफारिस गरिसकेको स्मरण गराएका छन् ।

त्यस्तै, सन् २०२५ मा आयोग र स्वास्थ्य मन्त्रालयसँग सन् २०२६ देखि ऐनअनुसार शिक्षण शुल्क निर्धारण तथा समायोजन गर्ने समझदारी भएको उनीहरूको दाबी छ ।

तर कार्यदलको सिफारिस र विगतका सहमति कार्यान्वयनमा राज्य पक्ष उदासीन देखिएको एसोसिएसनको आरोप छ । कानुनी व्यवस्था र सहमतिअनुसार शुल्क समायोजन नहुँदा निजी क्षेत्रको अर्बौँ रुपैयाँको लगानी जोखिममा परेको उनीहरूको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले दशकौँदेखि सिट र शुल्कको वैज्ञानिक पुनरवलोकन हुन नसक्दा मेडिकल कलेज सञ्चालन गर्न कठिन भएको बताए ।

उनले भने, ‘वर्तमान बजारभाउ, महँगी, कर्मचारीको तलब, बिजुली तथा पानीको महसुल र अन्य खर्च बढ्दा समेत पुरानै दरमा संस्था चलाउन सकिँदैन । आर्थिक सूचक, महँगी, नतिजा र गुणस्तरका आधारमा प्रत्येक वर्ष वा निश्चित अवधिमा शुल्क र सिटको पुनरवलोकन हुने वैज्ञानिक व्यवस्था हुनुपर्छ ।’

कार्कीले सिट निर्धारणको मापदण्ड, कलेजको व्यक्तिगत स्कोर कार्ड र मूल्याङ्कन विधि पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार पछिल्लो १० वर्षमा जम्मा ५०० सिट मात्र थपिएको छ भने शुल्कमा पनि न्यून वृद्धि भएको छ ।

आफूहरू पठनपाठन रोक्ने पक्षमा नरहेको उल्लेख गर्दै उनले राज्यले माग सम्बोधन नगरेसम्म विद्यार्थी भर्ना प्रक्रिया अघि नबढाई प्रतीक्षा गर्ने बताए । उनले समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबीच तत्काल वार्ता हुनुपर्नेमा जोड दिए ।

आयोगको अडान : तत्काल शुल्क पुनरवलोकन हुँदैन

निजी कलेजहरूले शुल्क समायोजनको माग गरिरहेका बेला चिकित्सा शिक्षा आयोगले भने तत्काल शुल्क पुनरवलोकनबारे औपचारिक छलफल सुरु नभएको जनाएको छ ।

आयोगका सूचना अधिकारी अर्जुन ढकालले हाल कायम शिक्षण शुल्क नै कार्यान्वयनमा आउने स्पष्ट पारे ।

उनका अनुसार आयोगले २०७७ माघ २९ र २०७८ जेठ २८ गतेको निर्णयबाट स्नातक तथा सोभन्दा माथिका तहको शिक्षण शुल्क निर्धारण गरेको थियो । त्यसपछि २०७९ मंसिर १५ गते शुल्क समायोजन गरी एकीकृत शुल्क कायम गरिएको थियो । हाल सोही निर्णयअनुसारको शुल्क लागू छ ।

यस्तो छ आयोगले निर्धारण गरेको शिक्षण शुल्क

आयोगले हाल कार्यान्वयनमा ल्याएको शुल्क विवरणअनुसार स्नातक तहका प्रमुख कार्यक्रममध्ये एमबीबीएसका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ, बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ र बीएएमएसका लागि ११ लाख ३१ हजार ९३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

अन्य कार्यक्रमतर्फ बीएनएस/पीबीएनका लागि ५ लाख १८ हजार रुपैयाँ र फार्म डीका लागि ६ लाख ७३ हजार ४०० रुपैयाँ शुल्क कायम छ ।

बीपीटी, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी, बी मेडिकल माइक्रोबायोलोजी, बी मेडिकल बायोकेमिस्ट्री, बी फार्मेसी, बीपीएच, बीअप्टोमेट्री, बीपरफ्युजन टेक्नोलोजी र बीएएसएलपीका लागि प्रतिकार्यक्रम ७ लाख ७७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

स्नातकोत्तर तहमा एम फार्मेसीका लागि ५ लाख १९ हजार ६६० रुपैयाँ शुल्क तोकिएको छ । एमएस्सी नर्सिङ/एमएन, एमपीएच, मास्टर अफ फिजियोथेरापी र मास्टर अफ अप्टोमेट्रीका लागि ९ लाख २० हजार २३० रुपैयाँ तथा एमडी आयुर्वेदका लागि ९ लाख ५७ हजार ६४० रुपैयाँ शुल्क कायम छ ।

त्यस्तै, एमएस्सी मेडिकल माइक्रोबायोलोजी, एमएस्सी मेडिकल बायोकेमिस्ट्री, एमएस्सी एमआईटी र एमएस्सी एमएलटीका लागि ७ लाख ५७ हजार ८३० रुपैयाँ शुल्क तोकिएको छ ।

एमडी बायोकेमिस्ट्री/क्लिनिकल बायोकेमिस्ट्री, एमडी कम्युनिटी मेडिसिन, एमडी फरेन्सिक मेडिसिन, एमडी माइक्रोबायोलोजी/क्लिनिकल माइक्रोबायोलोजी, एमडी फार्माकोलोजी/क्लिनिकल फार्माकोलोजी, एमडी फिजियोलोजी/क्लिनिकल फिजियोलोजी, एमएस एनाटोमी/क्लिनिकल एनाटोमी तथा एमडी हस्पिटल एड्मिनिस्ट्रेसनका लागि १० लाख ८५ हजार ८७० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

क्लिनिकल विधातर्फ एमडी पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, डर्माटोलोजी, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, इन्टरनल मेडिसिन, प्याथोलोजी/क्लिनिकल प्याथोलोजी, साइकियाट्री, रेडिएसन अन्कोलोजी, रेडियोलोजी, एमडी/एमएस अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजी, अप्थाल्मोलोजी, इएनटी, एमडीएसका विभिन्न विधा, एमएस जनरल सर्जरी र एमएस अर्थोपेडिक्सका लागि २३ लाख ८१ हजार ७६० रुपैयाँ शुल्क कायम गरिएको छ ।

९५ शिक्षण संस्थामा सिट निर्धारण

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक, डीएम/एमसीएच र एनबीएमएस (सब–स्पेसियालिटी) तहमा गरी कुल ९५ शिक्षण संस्थामा सिट निर्धारण गरेको छ ।

आयोगका अनुसार स्नातक तहमा ८८ वटा शिक्षण संस्थामा सिट निर्धारण गरिएको छ । डीएम/एमसीएच तहमा १५ वटा संस्थामा सिट निर्धारण भएको छ, जसमध्ये आठवटा संस्था स्नातक तहको सूचीमा पनि समावेश छन् । त्यस्तै, एनबीएमएस तहमा ६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरिएको छ ।

विद्यार्थीको भविष्य अन्योलमा

आयोग र निजी मेडिकल कलेज सञ्चालकबीचको विवादले सबैभन्दा बढी असर विद्यार्थी र अभिभावकलाई पर्ने देखिएको छ । प्रवेश परीक्षा उत्तीर्ण गरेर भर्नाको प्रतीक्षामा रहेका विद्यार्थीहरू कलेजहरूले भर्ना नलिने घोषणा गरेपछि अन्योलमा परेका छन् ।

स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्ने तयारीमा रहेका कतिपय विद्यार्थी विदेश जाने विकल्पबारे समेत सोच्न थालेका छन् ।

एकातिर निजी कलेजहरू सञ्चालन खर्चअनुसार शुल्क समायोजन हुनुपर्ने अडानमा छन् भने अर्कोतिर आयोगले तत्काल पुरानै शुल्क कार्यान्वयन हुने बताइरहेको छ । यस्तो अवस्थामा दुवै पक्षबीच सहमति नजुटे शैक्षिक सत्र प्रभावित हुने जोखिम बढेको छ ।

निजी कलेजहरूले सिट निर्धारणको मूल्याङ्कन विवरण सार्वजनिक गर्न, वैज्ञानिक आधारमा शुल्क समायोजन गर्न र शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय तथा कलेज प्रतिनिधिसहितको संयुक्त बैठक तत्काल बोलाउन माग गरेका छन् ।

चिकित्सा शिक्षाजस्तो संवेदनशील क्षेत्रमा देखिएको यो विवाद समाधान गर्न सरकारले समयमै पहल गर्नुपर्ने देखिन्छ । अन्यथा नियामक निकाय र निजी शिक्षण संस्थाबीचको टकरावको प्रत्यक्ष असर विद्यार्थीको शैक्षिक भविष्यमा पर्नेछ । शुल्क र सिट निर्धारणसम्बन्धी विवादलाई संवाद र सहमतिबाट टुङ्ग्याउँदै भर्ना प्रक्रिया सहज बनाउनु अहिलेको प्रमुख आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्