सुदूरपश्चिममा भारतबाट फर्किएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि, फेरि धमाधम घर फर्कन थाले

काठमाडौं, चैत २२ । अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेको छ। भारतका केही सहरमा लकडाउन गरिएकाले नेपाली नागरिक यति बेला धमाधम घर फर्किरहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पनि बढ्दो छ।

यसैबीच सुदूरपश्चिममा भारतबाट आएका ३ जनामा नयाँ ‘भेरिएन्ट’ (प्रकार) को कोरोना संक्रमण पुष्टि भएको छ। कञ्चनपुर, डडेल्धुरा र डोटीका एकरएक जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले ती ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

उनका अनुसार केही दिनअगाडि कैलालीको त्रिनगर नाका भएर भारतबाट आएका २० जनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनीहरूमा देखापरेको कोरोना संक्रमण कुन भेरिएन्ट हो भनी परीक्षण गर्न स्वाब काठमाडौं पठाइएको थियो।

संक्रमित अहिले होम आइसोलेसनमा बसेका छन्। संक्रमितमध्ये दुई जना भारतको पन्जाब र एक जना सुरतबाट आएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्