ट्र्याक्टरको ठक्करबाट छोराको मृत्यु, आमा गम्भीर घाइते

काठमाडौं । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा म‌गलबार राति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार राति करिब ७ बजे लोहारपट्टी नगरपालिका–१ की बस्ने उर्मिला यादव र उनका छोरा दुई वर्षीय आयुष यादव आफ्नै घर अगाडि बाटो काट्दै गरेका बेला लोहारपट्टी बजारबाट जनकपुर जाँदै गरेको ज १ त ९१७३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा छोरा आयुषको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, सोही दुर्घटनामा परी आमा उर्मिला यादव गम्भीर घाइते भएकी छिन्। उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक कडायतले बताए। प्रहरीले ठक्कर दिने ट्र्याक्टर र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्