घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

काठमाडौं, माघ २३ । एक दूधेबालकको घरबाटै बेपत्ताा भएको ७२ घण्टापछि भारतबाट उद्धार गरिएको छ । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाका दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरेको हो । उद्धार गरेका बालकलाई परिवारको जिम्मा लगाएको छ ।

आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएका थिए ।

बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ बजे भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।

बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ ।बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । यसबीचमा प्रहरीको उनको खोजी तिब्र गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्