तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै
काठमाडौं , पुस २८ । प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुने भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् ।
हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पूरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा रहेको उनले जानकारी गराए ।
मन्त्री फुयाँलले काठमाडौँको बूढानीलकण्ड र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकेको बताए ।
उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिने जानकारी दिए ।मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन दिए ।
उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिको लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका २२ इन्जिनीयरलाई स्वागत गरेका छन् ।
यसै आर्थिक वर्षभित्र उक्त पुराना सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । यसरी सुरुङमार्ग बोलपत्र आह्वान गर्न लागीए सँगै विकासका कार्यले पनि गति लिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्