कोरोनाबाट बाँकेमा तीन जना संक्रमितको मृत्यु
काठमाडौं , पुस २१ । कोरोना संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना गरि ३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै कञ्चनपुरका ६० वर्षीय पुरुषको पनि कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आजै मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी १७ पुसमा अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
यता बाँकेका ६८ वर्षीय पुरुषमा पुस ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी भेरी अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा सोमबार राति उनको मृत्यु भएको हो । यसरी पछिल्ला दिनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्