बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, पुस १४ । बैंकिङ कसूरका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीले काठमाडौं महानगरपालिका-९ जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाले उनलाई मंगलबार दिउँसो १ बजे सीतापाइलाबाट पक्राउ गरेको बताएको छ ।

उनीविरूद्ध पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले उजुरी दिएका थिए।श्याम श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सीतापाइला सडकखण्डमा काम गरेबापत रकम दिनुपर्ने थियो।

उनले ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाको एक करोड ३६ लाख १० हजार २ सय ८८ को रकम नभएको चेक दिएका थिए।

रकम नभएको चेक काटेर दिएपछि प्रहरीकोमा उजुरी परेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए। यसपछि उनी समातिन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्