बंगलादेशको मल पुस तेस्रो साता नेपाल आइपुग्ने
काठमाडौं , पुस ३ । सरकारले बंगालदेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ ।सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको टोलीले बिहीबार मल किन्ने सम्झौता गरेको थियो ।
मल ल्याउन ठेक्का पाइसकेको कम्पनीले आगामी साता एलसी (प्रतीतपत्र) खोल्ने र एलसी खोलेको दुई सातापछि मल नेपाल ल्याउन सुरु गर्ने कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। हरिबहादुर केसीले जानकारी दिए ।
‘बंगलादेश गएको टोली शनिबार फर्केलगत्तै एलसीको प्रक्रिया थालिनेछ ढिलोमा पुस २१ सम्म छिटोमा १५ गतेसम्म मल आउन सुरु गर्छ,’ केसीले भने । ढुवानी सुरु भएको एक सातामा सबै मल नेपाल भित्रिने पनि उनले बताए ।
मल ल्याउन जेएन ट्रेड (यूएई)सँग ठेक्का सम्झौता भएको छ । उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउने कृषि सामाग्री कम्पनीले जनाएको छ । बंगालदेशबाट मल ल्याएपछि चैते धानदेखि मकैबालीसम्मका लागि अभाव नहुने कम्पनीले जनाएको छ ।
थप मल ल्याउन पनि ठेक्का लगाइसकेकाले आउँदो वर्ष नेपालमा मल अभाव नहुने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्