पेस्तोल देखाएर दिउँसै लुटियो चार लाख

काठमाडौं, मंसिर २४ । पेस्तोल देखाएर दिउँसै चार लाख लुटिएको छ । सिराहाको लहान नगरपालिका(३ भगवानपुर गाउँनजिकै बुधबार दिउँसो मास्क लगाएका अपरिचित दुई व्यक्तिले पेस्तोल देखाएर चार लाख रुपैयाँ लुटेका हुन् ।

लहान २३ गाढा गाउँका करिब ५४ वर्षीय जागेश्वर यादवले लहानस्थित जनउत्थान सहकारी संस्थाबाट चार लाख रुपैयाँ निकालेर साइकलमा घर फर्किंदै गर्दा दिउँसो करिब साढे १२ बजेतिर लहान ३ स्थित एनसेलको टावर नजिकै लहान ठाढी सडकमा लुटपाट भएको हो ।

घरायसी ऋण तिर्न सहकारीबाट चेकमार्फत् रकम झिकेर लहान अस्पताल चोक हुँदै करिब पाँच सय मिटर दक्षिण पुगेपछि कल्भर्टमा बसिरहेका दुई जनाले चार लाख रुपैयाँ लुटेर उत्तरतिर भागेको पीडित यादवले बताए । पीडित यादवले सहकारीबाट एक हजार दरका तीन लाख र पाँच सय दरका एक लाख गरी चार लाख रुपैयाँ झिकेका थिए ।

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवाष खतिवडाले रकम लुटिएको थाहा पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्