रोल्पाबाट चालू आवमा ३१ जना हराए
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४/७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिएका छन् ।
हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन । यसरी छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरु क्रमशः १०, १३, १५ र १६ वर्षका रहेका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका रहेको प्रसनि बुढामगरले जानकारी दिए ।
उनका अनुसार यसैगरी आव २०७३/७४ मा ५६ महिला, २२ बालक र नौजना बालिका जिल्लाबाट हराएका थिए ।
तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन । यस्तै आव ०७२/७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए । यसरी परिवारलाई जानकारी नदिई घर, विद्यालय, पसल, धारा, पँधेरा तथा घाँसदाउरा गर्न गएका परिवारका सदस्य एकाएक सम्पर्कविहीन हुँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने हराएका आफन्तले जनाएका छन् ।
सरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्नका लागि आफूखुशी हिँड्ने गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । उनका अनुसार बालबालिका पारिवारिक बेमेलका कारण आफूखुशी हिँडेका हुन्छन् । यसरी हिँडेका बालकहरु कोही इँटाभट्टा, कोही होटेल तथा कोही नेपाल बाहिरका विभिन्न स्थानमा रोगजारीका लागि पुग्ने गरेका छन् ।
यसरी नागरिकले परिवारको सदस्य तथा आफन्तमा नआउँदा प्रहरीलाई खबर गर्ने तर सम्पर्कमा आइसके पनि जानकारी नदिने भएको हुँदा प्रहरीको तथ्यांकमा हराउनेको संख्या अधिक हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्