रासायनिक मल अभाव छैन : कृषि मन्त्रालय

काठमाडौं , मंसिर १७ । किसानले मलको अभाव भइरहेको बताइरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ ।

गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरेको छ ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया छिटै ल्याउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै कृषि सामग्री कम्पनीसँग ३०० मेट्रिक टन पोटास, १३ हजार ८२१ मेट्रिक टन डीएपी, १२ सय मेट्रिक टन युरिया रहेको छ । उसले ९ हजार ७०४ मेट्रिक टन पोटास, ३० हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिँदै गरेको पनि मन्त्रालयको दावी छ ।

बंगलादेशसंग मल खरिदका लागि ढोका खुल्लै राखेर ओमान र भारतसँग जीटूजीमा मल खरिदका लागि छलफल थालिएको पनि मन्त्रालयले जनाएको छ ।

मल वितरणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउँदै लगिएको र मल वितरण अनलाईनमार्फत ट्रयाकिङ गर्न सफ्टवेयर प्रयोग अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्