विभिन्‍न हतियारसहित ६ जना पक्राउ

काठमाडौं , मंसिर ९ । भोजपुर नगरपालिका ८, पोखरेलाइनबाट एसएलआर राइफलको २ राउन्ड गोली, थ्रीनटथ्री राइफलको १ राउन्ड गोली, १।६ फिट डेटोनेटर कडसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पौवादुम्मा गाउँपालिका ३ च्याङ्ग्रेका २१ वर्षीय विकास राई किराती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्की छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा हिँडिरहेका बेला जाँच गर्दा उक्त हातहतियारसहित नियन्त्रणमा लिएको हो ।

उदयपुर, कटारी नगरपालिका ७ मर्जेतपुरबाट एक थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय रुद्रबहादुर तामाङ र कृष्णबहादुर तामाङ छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूसँगै रही हाल फरार रहेका अन्य तीनजनाको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, मिक्लाजुङ गाउँपालिका १, सिलिलिङ बस्‍ने अरुण भन्ने ५८ वर्षीय अमृतबहादुर श्रेष्ठलाई एकथान टोटा बन्दुक, सोही बन्दुकको तीनथान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, विजयनगर गाउँपालिका १ नेउलागन्जका ४९ वर्षीय जोखु थारुलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले जोखुको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्