लागुऔषध कारोबारः आरोपमा एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ
काठमाडौ., भदौ २८ । प्रहरीले झापामा प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीको विशेष टोलीले ४ केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
त्यस्तै, विर्तामोड नगरपालिकाबाट एग्रोभेट सञ्चालकलाई पनि लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार विर्तामोड–३ मा सञ्चालनमा रहेको गोपाल एग्रोभेटका सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई २२ ग्राम लागुऔषध ९ब्राउनसुगर० सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै मेचीनगरपालिका–१३ स्थित इलाम रोडबाट ८।५ ग्राम ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–१० निवासी १८ वर्षीय विशाल लिम्बू र वडा नम्वर १२ निवासी २३ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
लागुऔषध कारोबारमा संलग्न उनीहरुले चलाएको मे ४ प ७७२६ नम्वरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
विर्तामोड नगरपालिका–१ अदुवा खोला छेउबाट लागुऔषधको कारोबार गरिरहेका ३ जनालाई शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले लागुऔषध ९ब्राउनसुगर० बिक्री गर्दागर्दै ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा सन्दीप धिमाल, आकाश राई र आशिष राई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।
पछिल्लो समय झापामा लागुऔषध कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । सोही क्रममा प्रहरीले एकै दिन जिल्लाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो । रासस
प्रतिक्रिया दिनुहोस्