८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

काठमाडौं, साउन ८ । ८० हजार घुस लिएको अभियोगमा एक सबइञ्जिनीयर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा ति कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिञ्चाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाल रहेका छन् । उनलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ ।

सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।  नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएवापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ ।

आयोगको टोलीले घुस लिएको देखेपछि सबइञ्जीनियर जैसवालले आफ्नो नजिक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ । दुवैलाई पक्राउ गरी हेटौँडा ल्याइएको छ । अनुसन्धानपछि काठमाडौँ पठाइने आयोग क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्