समुदाय स्तरमा संक्रमण देखिएपछि दैलेखमा निषेधाज्ञा जारी

काठमाडौं, साउन ८ । समुदाय स्तरमा संक्रमण देखिएपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । दैलेखको ठाटीकांध गाउँपालिकामा १६ जनामा कोरोना भेटिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

गाउँपालिकाभित्र समुदाय स्तरमा परीक्षण सुरू गरिएको थियो । पहिलो चरणमा परीक्षण गरिएका ७३ मध्ये १६ जनामा संक्रमण पुष्टि भएको छ। परीक्षण गर्नुपर्ने दायरामा नरहेकाहरुमा संक्रमण देखिए पछि प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

संक्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्ने सवै नाका बन्द गरिएको छ। बिहीबार १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा रहने प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए।

वडानम्बर १ का ३२ र ६० वर्षीय पुरुष, वडानम्बर २ का १४, २१, ४०, ४१ र ४४ वर्षीय पुरुष र ३० वर्षीया महिला, वडानम्बर ३ का ५३ र ५६ वर्षीय पुरुष, वडानम्बर ४ का २७ वर्षीया महिला र वडा नम्बर ६ का २५, २७, ३४, ३५ र ४२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

समुदाय स्तरमा संक्रमणबारे बुझ्न गरिएको पहिलो परीक्षणमै १६ जनामा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए। यसअघि दैलेखमा ट्राभल हिस्ट्री नभएका तर, क्वारेन्टिन व्यवस्थापनमा संलग्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतमा संक्रमण देखिएको थियो।

दैलेखमा २ जना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना प्रहरी, २८ जना सशस्त्र प्रहरी, ८ जना शिक्षकमा संक्रमण पुष्टि भएको छ। दैलेखमा अहिलेसम्म ८०८ जना कोरोना पोजिटिभ भेटिएकोमा ७८५ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्