चल्न थाले सार्वजनिक यातायात , तर यात्रु भन्छन्- गाडी भाडा चर्को भयो
काठमाडौं , साउन ८ । बिहीबारदेखि धेरै सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त घोषणा गरेपछि यातायातका साधन गुड्न थालेका हुन् ।
बिहीबारदेखि काठमाडौंका सडकमा बाक्लो संख्यामा सार्वजनिक यातायात देखिएका छन् । रत्नपार्कको खुलामञ्चस्थित बस टर्मिनलमा बिहीबार बाक्लो संख्यामा सवारी साधन देखिएका छन् । सडकमा पनि सार्वजनिक यातायातको संख्या बढेसँगै जाम हुन थालेको छ ।सरकारले सार्वजनिक यातायातमा एक पंक्तिमा एक जनामात्र राख्न पाइने, मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुुपर्नेजस्ता सावधानीको उपाय अपनाउन आग्रह गरेको छ ।
यसअघि पनि फाट्टफुट्ट सार्वजनिक यातायात चले पनि व्यवसायीका प्रतिनिधिमूलक संस्थाले आफ्ना केही माग सम्बोधन भएपछि मात्र यातायात चलाउने घोषणा गरेका थिए ।व्यवसायी र मजदुरका माग सरकारले सम्बोधन गर्ने बताएपछि साउन ८ गतेपछि देशभर यातायातका साधन चलाउने व्यवसायीले बताएका थिए । हाललाई काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरभर र उपत्यकाबाहिर सम्बन्धित जिल्लाभित्र मात्र यातायातका साधन चलाउन पाइन्छ ।
यसैबीच झन्डै ४ महिनाको लकडाउन खुलेपछि सार्वजनिक बसका यात्रीहरुले चर्को भाडा तिर्नुपरेको गुनासो पनि गरेका छन् ।काठमाडौँ उपत्यकामा सञ्चालनमा आएका बसहरुमा लकडाउन खुले पनि यात्रीहरुको सङ्ख्या भने निकै न्यून रहेको छ । सरकारले दूरी कायम गर्दै बस चलाउन भनेअनुसार बस चलाएको तर दिनभर गाडि गुडाउँदा पनि डिजेल खर्च उठाउन धौधौ पर्ने सवारी चालक बताउँछन् ।
लकडाउन खुलेसँगै सडकमा सवारी चाप बढेको छ । कोरोना भाइरस रोकथाम मापदण्ड पालना नगर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनलाई कारबाही थालेको छ ।
बुधबार ट्राफिक प्रहरीले कूल २ सय ६३ सवारी साधानलाई कारबाही गरेको छ । यस्तै मापदण्ड पूरा नगर्ने र बढी यात्री राख्ने ३२ सार्वजनिक बस, ट्याक्सी, टेम्पोलाई बेलुका ८ बजेसम्म सडकमा होल्ड गरेर कारबाही गरेको ट्राफिक प्रवक्ता एससपी बामदेव गौतमले जानकारी दिए । ट्राफिक प्रहरीले सडकमा गुड्ने यात्रीबहाक सवारी सधानले सङ्क्रामक रोग रोकथामका लागि मापदण्ड पालना गरे नगरेको बारे अनुगमन महाशाखाबाट ३ टोली खटाइएको जानकारी दिए ।
ट्राफिक प्रहरीले रसिद काटेर आर्थिक जरिवाना नगरी सडकमा सवारी होल्ड गरेर कारबाही गर्न थालेको छ । यस्तै काठमाडौँ उपत्यकामा चल्ने सवारी साधानहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारेमा विभिन्न २९ ठाउँमा अनुगमनका लागि प्रहरी परिचालन गरेको र विभिन्न स्थानमा रहेका ट्राफिक पोस्टहरुले पनि अनुगमन गरेर जानकारी दिने प्रवक्ता गौतमले बताए ।
सवारी साधनले बढी भाडा लिएको बारे हालसम्म प्रहरीलाई गुनासो नआएको र त्यस्तो भए ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्