आज भूमिसम्बन्धी अध्यादेश आउँछ : प्रधानमन्त्री ओली
काठमााडौं, २ माघ । प्रधानमन्त्री तथा नेकपा एमालेका अ्रध्यक्ष केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश पनि आउने बताएका छन्।
गत शुक्रबारको मन्त्रिपरिषद बैठकले भूमिसहित पाँच अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोमा सोमबार चार वटा अध्यादेश जारी भएको थियो। तर भूमिसम्बन्धी अध्यादेश भने राष्ट्रपतिले अध्ययनकै क्रममा राखेका थिए।
यो पनि सरकारी जग्गा दुरूपयोग हुन सक्ने आशंकामा राष्ट्रपतिले होल्ड गरे भूमिसम्बन्धी अध्यादेश तर प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा भएको कार्यक्रममा बोल्दै भूमिसम्बन्धी अध्यादेश बुधबार नै जारी हुने दाबी गरेका छन्।
‘आज अर्को भूमिसम्बन्धी अध्यादेश पनि आउँछ, जसले भूमिमा भएका बेठिक खालका कतिपय कुरा र समस्या सुल्झाउन मद्दत गर्छ,’ प्रधानमन्त्री ओलीले भने। साथै नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि गर्ने विश्वास लिएका छन्।
बुधबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरू सकारात्मक भएको बताएका हुन्।
निजी क्षेत्रका प्रतिनिधिले कोभिड १९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा लागि उपयुक्त नियमावली र कार्यविधि ल्याउन माग गरेको प्रधानमन्त्रीको सचिवालयको दाबी छ।
उद्योगी, व्यवसायी तथा उनीहरूका प्रतिनिधिले अध्यादेशका ती व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्त सञ्चार हुने विश्वास व्यक्त गरेका थिए। साथै यही ढंगले लगानीमैत्री वातावरण सिर्जना भएमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न योगदान मिल्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले सरकार ढल्दैछ भनेर बजार हल्ला चलाइए पनि सत्ता गठबन्धनमा रहेका दलहरू नीति, निर्माणमा सकारात्मक ढंगले लागिरहेको बताएका थिए।
प्रधानमन्त्री ओलीले जतिबेला पनि विरोध गर्नेहरूबाहेक आम मान्छेले विकास र सुशासन चाहेको बताएका थिए। सुशासन र विकाससँग सम्बन्धित व्यावहारिक र अनुकूल नीति ल्याइएमा समृद्धि असम्भव नरहेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्