नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै

काठमाडौं,२ माघ । नेपाल राष्ट्र बैंकले अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । आज बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २१ दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी, ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी मिति माघ २३ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा अर्थात पुस २८ गते सम्ममा निक्षेप संकलन उपकरण मार्फत ३९ पटकमा १४ खर्ब ८६ अर्ब ६५ करोड रुपैयाँ उठाएको छ । यसमध्ये २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँ फिर्ता हुन बाँकी छ । यस्तै, स्थायी निक्षेप सुविधा अन्तर्गतको ४६ अर्ब ३५ करोड रुपैयाँ बैंकिङ प्रणालीमा फिर्ता हुन बाँकी छ । राष्ट्र बैंकका अनुसार विभिन्न उपकरणमार्फत् बैंकिङ प्रणालीबाट तानेको मध्ये कुल २ खर्ब ८३ अर्ब ८० करोड राष्ट्र बैंकमै रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा करिब साढे ६ खर्ब लगानीयोग्य रकम रहेको देखिन्छ । हालसम्म बैंकहरुले ६६ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५३ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.२० प्रतिशतमा कायम छ । बैंकहरुले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधान अनुसार थप ६ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्