मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएको प्रारम्भिक निष्कर्ष

काठमाडौं, साउन ४ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा भएको दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले गेटको नलबोल्ट कसाइमै त्रुटि भएको पाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चार दिनदेखि घटनाको छानविन गरिरहेको समितिले आयोजनस्थलको निरीक्षणपछि नटबोल्मै समस्या रहेको औँल्याएको हो । ‘खुलेको १७ नम्बर गेट आयोजनास्थलमै पुगेर हेर्‍यौँ । गेटको नलबोल्ट कसाइमा त्रुटि हुँदा अनपेक्षित घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छौँ,’ छानविन प्राविधिक समितिका संयोजक रमाकान्त दुवाडीले नागरिकसँग भने । समिति छानविनकै क्रममा रहेकाले अन्तिम निष्कर्ष भने आइनसकेको उनले जानकारी दिए ।

गएको मंगलबार परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुल्दा निरीक्षणमा रहेका चार जनालाई बगाएको थियो । दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो भने दुई बेपत्ता भएका थिए । बेपत्ता एक इन्जिनियर बिहीबार मृत अवस्थामा फेला परेका थिए । एक अझै बेपत्ता छन् । दुई महिनाभित्र सक्ने गरी सुरुङ परीक्षणमा जुटेको आयोजनाको पहिलो १० दिन व्यर्थ बनेको थियो ।

घटनाकै दिन खानेपानी मन्त्रालयले सहसचिव दुवाडीको संयोजकत्वमा छानविन प्राविधिक समिति गठन गरेको थियो । विज्ञसम्मिलित ६ सदस्यीय टोलीले बुधबारबाटै काम थालेको थियो । समिति बिहीबार १७ नम्बर गेटको निरीक्षण गर्न मुहानस्थल हेलम्बुको अम्बाथान आएको थियो । ‘बाहिर आए जस्तो गेट खुस्किएको, भत्केको, बगाएको होइन,’ आयोजनाका पूर्वउपकार्यकारी निर्देशक समेत रहेका प्राविधिक समितिका संयोजक दुवाडीले भने, ‘फलामे गेट खुलेको अवस्थामा घटनास्थलमा जस्ताको त्यस्तै छ ।’

नटबोल्टले काम नगरेपछि गेट खुलेको पाइएको उनले जानकारी दिए । ‘नटबोल्ट खुस्किएपछि गेट खुलेको हो । यसको अर्थ नटबोल्ट राम्रोसँग कस्सिएको थिएन भन्ने नै हो,’ घटनाको प्रारम्भिक निष्कर्ष सुनाउँदै दुवाडीले भने । एकातिर कब्जा ठोकिएको गेटको अर्कोतिर नटबोल्ट कसेर बन्द गरिएको थियो । उनका अनुसार गेट अड्याउन बनाइएको पिलर, ढलान, फ्रेस लगायत सपोर्ट सिष्टम ठीक छ । कब्जाको अवस्थासमेत ठीक देखियो ।

‘यति भएपछि नलबोल्ट कसाइमै समस्या थियो भन्न सकिन्छ । अर्थात बलियो पारेर नटबोल्ट कसिएन,’ उनले भने । अम्बाथान अडिट टनेलमा राखिएको गेटबाट मुख्यसुरुङ हुँदै ग्याल्थुमतिर जान मिल्ने उनले जानकारी दिए । संयोजक दवाडीका अनुसार पानी खोलेर सुरुङ सफा गर्नुपर्दा यो गेटबाट सानो गाडी भित्र छिर्न मिल्छ ।

आयोजनाको साढे २६ किलोमिटर लामो सुरुङमार्गमध्ये खुस्किएको अम्बाथानको गेट सबैभन्दा होचो स्थानमा रहेको समितिले जनाएको छ । हेडवक्र्सदेखि अम्बाथानसम्म सुरुङ ओरालो छ । त्यहाँबाट ग्याल्थुमसम्म उकालो छ । ‘दुबैतिर उकालो भएपछि जमेको पानीको चाप यहीँ बढी थियो । चापले राम्ररी नकस्सिकएको नटबोल्ट स्लिप भएर खुस्केपछि गेट ह्वात्तै खुल्यो,’ छानविनबाट आएका प्रारम्भिक नतिजाबारे जानकारी दिँदै संयोजक दुवाडीले भने ।

समितिले गेट खुस्किएको घटना अनपेक्षित भएको समेत बताएको छ । ठूला योजनामा यस्ता घटना हुने गरे पनि आयोजनाले पूर्वानुमान गरेर तयारी गरेको भने नपाइएको समेत समितिले जनाएको छ । ‘अहिलेसम्मको अध्ययनमा गल्ति सानो देखियो । क्षति भने ठूलो भयो । अझ मानवीय क्षति हुनु सामान्य हुँदै होइन,’ दवाडीको भनाइ छ ।

सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो । उसले हेडवक्र्सको पनि काम गरिरहेको छ । डिजाइन, निर्माण, जडान कार्यको निगरानी तथा सुपरीवेक्षण इप्टिसा नामक परामर्शदाता कम्पनीले गरिरहेको छ । त्यस्तै गेट निर्माण र जडानको काम भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको हो । गेटको डिजाइन, निर्माण, जडान र गुणस्तरको पनि छानविन गरिने संयोजक दुवाडीले जानकारी दिए ।

सुरुङका चार अडिट अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा एकै प्रकृतिका गेट जडान गरिएको जनाउँदै उनले भने, ‘समितिलाई गेट डिजाइनमा केही त्रुटि छ कि भन्ने लागेको छ । यसबारे पनि छानविन गर्छौँ ।’ परामर्शदाता इप्टिसाले दिएको डिजाइनअनुसार जस्ताको त्यस्तै गेट निर्माण भएको हो कि होइन, या भारतीय कम्पनी प्रिसिजनले तोडमोड गरेर बनाएको डिजाइन इप्टिसाले स्वीकार गरेर जडान गर्न लगाएको हो भन्नेबारे पनि छानविन गरिने उनले प्रष्ट पारे ।

खुलेको गेटलाई केन्द्रमा राखेर छानविन भइरहेकाले गल्ति कसले गरेको हो भनेर अहिल्यै भन्न नमिल्ने समितिको भनाइ छ । १७ नम्बर गेटमा जस्तै अन्य गेटमा पनि समस्या छ कि भनेर हेर्न आयोजनालाई सुझाव दिने समितिको तयारी छ । समितिलाई घटना कसरी भयो, के कारणले भयो र कहाँ कमजोरी भयो भन्नेबारे अध्ययन र छानविन गर्ने सीमा रहेको जनाउँदै संयोजक दवाडीले गेट र त्यससँग जोडिएर आउने संरचना भने हेर्ने बताए । ‘थप अध्ययन र छानविन गरेर चार–पाँच दिनमा प्रतिवेदन बुझाउँछौँ,’ उनले भने, ‘आगामी दिनमा यस्ता समस्या निम्तिन नदिन सरकारलाई उपयूक्त सुझाव दिन्छौँ ।’नागरिक दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्