चीनबाट २५ थान ‘पीसीआर’ मेसिन ल्याइँदै

काठमाडौं, जेठ ३१ । दैनिक १२ हजारबराबरको ‘पीसीआर’ परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पीसीआर मेसिन आयात गर्ने तयारी थालेको छ ।

पीसीआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पीसीआर मेसिन र १० थान ‘पोर्टेवल’ पीसीआर मेसिन आयात गर्न लागेको हो ।

चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौं आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए ।

उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घन्टाभित्रै रिपोर्ट दिनसक्ने छ ।

झन्डै रु ३० करोडबराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाखथान आरएनए किट, एक लाखथान पीसीआर किट र तीन लाखथान ‘भीटीएम’समेत आयात गर्न लागिएको बताए ।

भीटीएमको अभावमा स्वाब संकलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत् सामान आयात गर्न लागिएको हो ।

यस्तै, सो कम्पनीले नौथान अटोमेटिक ‘आरएनए’ मेसिन तथा दुई लाखथान ‘आरडीटी’ किटसमेत ल्याउने तयारी गरेको छ ।

पीसीआर किटको अभावमा केही स्थानमा स्वाब संकलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा संकलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ ।

पीसीआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ ।

ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजारजनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सरकारलेसमेत पीसीआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ ।

सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजारजनाको पीसीआर परीक्षण गर्ने तयारी गरेको संघीय संसदमा समेत यसअघि नै जानकारी गराइसकिएको छ ।

‘लकडाउन’लाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीकाबीच निजी क्षेत्रलेसमेत त्यसमा आड(भरोसा प्रदान गर्न लागेको हो ।

ती सामानको आयातपछि देशभर ‘क्वारेन्टिन’मा रहेकाको परीक्षणमा समेत थप सहज हुने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबारसम्म एक लाख २१ हजार ८६२ जनाको पीसीआर परीक्षण भएको छ भने आरडीटी परीक्षण एक लाख ८८ हजारको भएको छ । देशभर एक लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् ।

यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाखथान आरडीटी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्