दुई लाख घुससहित दुई जना सहायक वन अधिकृत पक्राउ

काठमाडौं , जेठ २१ । दुई लाख रुपैयाँ घुससहित डिभिजन वन कार्यालय ताप्लेजुङमा कार्यरत दुई जना सहायक वन अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वनअधिकृत जीवनकुमार यादव र सव डिभिजन वन कार्यालय फुङ्लिङका सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साह रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनाएको छ ।

उनीहरुलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए

जडीबुटी निकासीमा छुट पूर्जी दिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा इटहरीबाट खटिएको आयोगको टोलीले एक/एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा डिभिजन वन कार्यालय ताप्लेजुङ परिसरबाट मंगलबार दुवै जनालाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्