गड्डाचौकी नाकाबाट एक सातामा १७ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, जेठ १८ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक सातामा झण्डै १७ हजार नेपाली स्वदेश फर्किएका छन् ।

लकडाउनका कारण दुई महिनादेखि सिल गरिएको गड्डाचौकी नाकालाई स्थानीय प्रशासनले गत सोमबारदेखि खुला गरेपछि १६ हजार नौ सय २० जना नेपाली स्वदेश फर्किएका हुन् ।

यसैगरी कञ्चनपुरका विभिन्न क्षेत्रमा अलपत्र परेका नौ सय ६५ जना भारतीय नागरिकलाई सोही नाका हुदै भारत पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार गड्डाचौकी नाकाबाट आइतबार मात्रै तीन हजार ५८ जना नेपाली भित्रिएका छन् भने शनिबार सबैभन्दा बढी तीन हजार सात सय ५२ जना भित्रिएका थिए ।

नेपाली सेनाको मेडिकल टोलीले सामान्य स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई सम्बन्धित जिल्लामा पठाउने गरिएको छ ।

यता, गड्डाचौकी नाका कहिलेसम्म खुला गर्ने भन्ने विषयमा भने स्थानीय प्रशासनले कुनै निर्णय नभएको जनाएको छ ।

भारतबाट नेपालीहरु आउने क्रम बढ्दै गइरहेकाले संक्रमित र व्यवस्थापनका अन्य पाटोका आधारमा नाका खुला राख्ने वा बन्द गर्ने भन्ने निर्णय गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्