कोरोना संक्रमितको बस्ती सिल, प्रत्येक घरमा परीक्षण तयारी

काठमाडौं, जेठ १० । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।

प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि आज बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

सङ्क्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ । टेकु अस्पताल लैजाने तयारी गरिए पनि सङ्क्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।

विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहनुभएकी सङ्क्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरे पनि आफैँ कोरोना सङ्क्रमित भएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्