संक्रमित भेटिएपछि धादिङ स्वास्थ्यचौकी सिल

काठमाडौं जेठ ८ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ ।

लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौं गएपछि उनी बसोबास क्षेत्र सिल गरिएको हो ।

स्वास्थ्यचौकी सिल गरिएसँगै सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।

सङ्क्रमितका हजुरबुवा गुम्दी स्वास्थ्यचौकीमा कार्यरत रहेकाले उनी लमजुङको सुन्दरबजारबाट आमासहित चैत ९ गते गुम्दी आएका थिए ।

५० दिन यता बसेपछि वैशाख २९ गते काठमाडौं गएका थिए । काठमाडौँमा घरधनीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिएपछि कोभिड–१९ जाँच गर्दा बालकमा सङ्क्रमण पुष्टि भएको थियो । बालकसँगै रहेकी आमालाई भने कोभिड–१९ देखिएको छैन ।

सङ्क्रमित बालक, उनका हजुरबुवाको सम्पर्कमा आएका, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्टयाक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

सङ्क्रमित रहेको कोठा वरपरका मानिस, परिवार नजिकका नातेदारको लगत सङ्कलन कार्य भइरहेको र सोको नतिजाबमोजिम स्वाब सङ्कलन र अन्य काम गरिने गङ्गाजमुना गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

बिहीबार १७ जनाको स्वाब सङ्कलन गरिएको र उनीहरुको रिपोर्ट आएपछि मात्र यस क्षेत्रलाई नतिजाका आधारमा स्वास्थ्यचौकी सञ्चालन गरिने अधिकारीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्