बिदेशमा अलपत्र नागरिकलाई नेपाल ल्याउन सरकारलाई निर्देशन
काठमाडौं, जेठ १ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले बिदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन निर्देशन दिएको छ ।
बिहीबार बसेको समिति बैठकले बिदेशमा अलपत्र नागरिकलाई तत्काल नेपाल ल्याएर क्वारेन्टीन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
यस्तै विदेशमै बस्न चाहानेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि समितिले निर्देशन दिएको छ ।
कोरोना महामारीका कारण रोजगार गुमाएर र विभिन्न कारणले बिदेशमा हाल चार लाखभन्दा धेरै नेपाली अलपत्र अवस्थामा छन् ।
कतिपयको भिसाको म्याद सकिएको छ भने कतिपयले रोजगारी गुमाएका छन् । अवैधानिक तवरले बिदेश गएकाहरूमा पनि यस्तो अवस्थामा समस्या भोगि रहेका छन् ।
कुवेतमा रहेका नेपाली महिलालाई त्यहाँ उचित व्यवस्थापन नभएर बेहाल भएको भिडियो उनीहरूले सामाजिक सञ्जालमा शेयर गरेका छन् । विभिन्न मुलुकमा रहेका श्रमिकहरूले खान र बस्नको समेत समस्या भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्