प्रदेश ७ का पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

काठमाडौं । डडेल्धुरालगायत प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा हिमपात भएको छ । ७ नम्बर प्रदेशका बैतडी, बझाङ, डोटी, बाजुरा, दार्चुला लगायतका जिल्लाका उच्च भेगमा हिमपात भएसँगै अत्यधिक चिसो बढेको छ ।

गएराति पानी परेसँगै बिहानदेखि हिमपात सुरु भएको हो । डडेल्धुरा सदरमुकाममा बुधबार बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ । उच्च लेकाली भागमा रातिदेखि नै हिमपात जारी छ । भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाई आएको छ ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घर बाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासी बढेको चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्‍याएको छ । बाक्लो हिउँले गाउँघर सेताम्य बनेपछि किसानहरु बालिनाली सप्रिने आशले खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्