आगोमा जलेर ११ वर्षीय बालकको मृत्यु, अन्यले भागेर जोगाए ज्यान

काठमाडौं, फागुन २१ । एक घरमा आगो लाग्दा सल्यानमा ११ वर्षीय बालकको मृत्यु भएको छ ।
शिद्धकुमाख गाउँपालिका वडा नं. १ बाँझकाँडा निवासी रत्नलाल बुढाथोकीको घरमा आगलागी भएको हो । यसै आगोमा पर्दा उनका ११ वर्षीय छोरा दुर्गाबहादुर बुढाथोकीको मृत्यु भएको स्थानीयले बताएका छन् ।
गएराति दश बजेतिर घरमा आगलागी हुँदा बालकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता उमाकान्त जोशीले जनाकार दिए ।

प्रहरी निरीक्षक जोशीका अनुसार आगो लाग्दा घर परिवारका सबै सदस्य भागेर ज्यान जोगाउन सफल भएपनि घरभित्रै सुतेका बालकबारे अनभिज्ञ हुँदा उनको ज्यान जान पुग्यो , ‘बालक दुर्गाबहादुर प्राय आफन्त र दिदीको घरमा सुत्ने गर्दथे,’ जोशीले भने ‘त्यो दिन पनि उनी दिनभर बाहिर खेल्न गए र बेलुका कतिबेला आएर घरको माथिल्लो तलामा सुते भन्ने कुरा घरका मान्छेले थाहा नपाएकाले बालकको जलेर मृत्यु भएको देखिन्छ।’

बालकको शवनजिकै जलेको अवस्थामा सलाई समेत भेटिएकाले उनैले रातिमा उज्यालोका लागि बालेको काँटीबाट आगजनी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।‘जहाँ बालक सुतेका थिए त्यही ठाउँमा खर, काठहरु राखिएको रहेछ,’ प्रहरी प्रवक्ता जोशीले भने।

आगलागीबाट बुढाथोकीको अधिकांश घर जलेर नष्ट भएको प्रहरीले बताएको छ। घरमा लागेको आगो नियन्त्रणमा लिएपछि मात्रै सबैभन्दा माथिल्लो तलामा बालकको शव जलेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस्ता आगलागीका घटनामा कयौं बालबालीकको अकलमै ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्