एक लाख घुससहित इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं, फागुन ७ । अख्तियारको टोलीले एक लाख घुस रकमसहित एक इन्जिनियरलाई पक्राउ गरेको छ।

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकमसहित पक्राउ परेका हुन्। उनलाई आज बिहानै कार्यालयबाट पक्राउ गरिएको हो।

चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका सूचना अधिकारी तोपबहादुर बिष्टले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपूरबाट खटिएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले पक्राउ गरेको हो। उनलाई आजै कञ्चनपुर लगेर थप अनुसन्धान गरिने सूचना अधिकारी बिष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्