विभिन्न स्थानमा छुट्टाछुट्टै दुर्घटना : ४ जनाको मृत्यु
काठमाडौं , माघ २३ । देशका विभन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको ज्यान गएको छ । काठमाडौं, बारा र मकवानपुरका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित अण्डरपास सडकमा हाल नम्बर नखुलेको टिपरले प्रदेश नम्बर २-०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कठहरिया गाउँपालिका-४ घर भएका १९ वर्षीय राकेश कुमार चौधरी र सोही गाउँपालिका-७ घर भएका २४ वर्षीय मुन्ना चौधरीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने टिपर र चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
बारको जितपुर सिमरा उपमहानगरपालिका(२ निम्बु फारमस्थित सडकमा ना.७ त १४५५ नम्बरको ट्याक्टरको टेलरबाट खसेर गम्भीर घाइते भएका पर्सा सखुई जमुनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय लालबाबु पटेललाई उपचारको लागि अल्पाईन अस्पताल सिमरातर्फ लैजाने क्रममा बुधबार दिउँसो बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मकवानपुरको बाग्मती गाउँपालिका-७ पाथिभरास्थित सडकमा ग.१४ प ३७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल वतन नखुलेका २३ वर्षीय नरेश घर्तीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका-४ बस्ने १८ वर्षीय समिर गुरुङलाई थप उपचारको लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्