फरार दुई दोषी कारागार चलान

काठमाडौं, माघ १७ । लागूऔषध मुद्दामा दुई वर्ष कैद र रु एक लाख जरिवाना फैसला भई फरार भएका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने दोषी सविन तचामोलाई जिल्ला अदालत भक्तपुरले बिहीबार डिल्लीबजार कारागार चलान गरेको अदालतका तहसिलदार हिरालाल भुसालले बताए ।

लागू औषध नाइट्रोजाम मुद्दामा २०७६ भदौ ५ गते जिल्ला अदालत भक्तपुरले दोषी ठहर गर्दै गरेको फैसला भुक्तान नगरी फरार तचामोलाई अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुर बुझाएको थियो ।

त्यसै सुस्त मनस्थिति भएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी फरार भएका ओखलढुङ्गा सिंहदेवी–७ घर भई सूर्य्विनायक नगरपालिका–८ सिपाडोल बस्ने ५६ वर्षीय पूर्णबहादुर खड्कालाई प्रहरीले घटनाको चार वर्षपछि गिरफ्तार गरेको छ । विसं २०७२ फागुन २१ गते उनलाई १० रुपैयाँ दिएर फकाई आफ्नै कोठामा लगेर बलात्कार गरी फरार भएका खड्कालाई सूर्य्विनायकबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरलाई बुझाएको थियो ।

अदालतले २०७५ कात्तिक २६ गते खड्कालाई दुई वर्ष ६ महिना कैद फैसला सुनाएकामा फरार खड्कालाई भक्तपुर जिल्ला अदालतले डिल्लीबजार कारागार चलान गरेको तहसिलदार भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्