नेकपाको सचिवालय बैठक, सभामुख, एमसीसीबारेमा पनि छलफल

काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुव्र्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ ।

उप–सभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार क्यानिडेट योजना बनाएको छ । सभामुखका सम्भावित उम्मेदवारका रूपमा सुवास नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसाल, देव गुरुङलगायतको नाम अगाडि सारिएको छ ।

यद्यपि, नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन । नेकपाले सभामुख टुंगो नलगाउँदा संसदको काम–कारबाही प्रभावित हुँदै आइरहेको छ ।

अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पाेरेशन च्यालेञ्ज (एमसीसी) बारे पनि आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि बसेको स्थायी समिति बैठकले यसबारे टुंगो लगाउन नसकेपछि यसको अन्तिम निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्