कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज

काठमााडौं, १२ कार्तिक । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार गर्न लागेको हो ।

सभापति गगन कुमार थापाले भने दशैंको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज कात्तिक १२ गते दिउँसो २ बजे कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।

निर्वाचन समितिले गत सोमबार नै सूचना प्रकाशित गरेर १५ औं महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थित हुन भनेको थियो ।

१८–२३ असोजमा सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।

बाँकी सदस्य मनोनीत गर्न आजै केन्द्रीय समिति बैठक बस्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्