विप्लव समूहकी केन्द्रीय सदस्य उमा भुजेलसहित ४ जना नेता पक्राउ

काठमाडौँ , पुस १२ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता पक्राउ परेका छन् । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई शनिबार बिहान प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो ।

यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र अर्का क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए । पक्राउ परेका सबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई १ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद भएको छ । भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन् ।

संगठित रूपमा आपराधिक गतिविधि गरेको भन्दै गत वर्ष चैतमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्