आउँदो सत्रमा एमसिसी पारित हुन्छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं , पुस १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदनको आउँदो सत्रमा एमसिसी पारित हुने बताएका छन् ।


बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्यवन समितिको बैठकमा जवाफ दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। साथै उनले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे अनावश्यक आशंका गरिएको बताए ।

समितिले एमसिसीबारे सरकारको आधिकारिक धारणा पेस गर्न परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएको थियो। बैठकमा बोल्दै मन्त्री ज्ञवालीले एमसीसी र इन्डोप्यासिफिक स्ट्राटेजीबीच कुनै सम्बन्ध नभएको भन्दै सदनको आउँदो सत्रमा एमसिसी पारित हुने बताए।

मन्त्री ज्ञवालीले एमसिसीमा नेपालले पहिले नै सहमति गरेको तर इन्डोप्यासिफिक स्ट्राटेजी २०१७ बाट मात्र सुरु भएकाले दुवै विषय एक अर्कासंग सम्बन्धित नभएको बताएका थिए मन्त्री ज्ञवालीले समितिको बैठकलाई सम्बोधन गर्दै यस विषयमा अनावश्यक आशंका नगर्न पनि आग्रह गरेका थिए।

समितिमा उपस्थिति सांसदहरुले एमसीसीमा नेपालले सहमति गरेपछि नेपालमा ६ जना प्रधानमन्त्री सत्तामा पुगेको भन्दै यो विषयमा विवाद गर्न नहुने बताएका थिए। समितिमा बोल्दै सांसदहरूले नेपालले विकासका लागि ऋण खोज्नुपर्ने अवस्थामा अनुदानमा प्राप्त रकमका विषयमा अनावश्यक बखेडा झिक्न नहुने बताएका थिए।

यता नेपालले पाँच सय मिलियन अमेरिकी डलरको उक्त अनुदान सहयोगमा हस्ताक्षर गरेपनि सत्तारुढ नेकपाका कतिपय सांसदहरूले एमसिसीमा अमेरिकाको स्वार्थ जोडिएको भन्दै त्यसलाई लिन नहुने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्