यसरी मनाइयो टुँडीखेलमा माघी पर्व (फोटो फिचर)
काठमाण्डौ । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । यस दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । माघे संक्रान्ति समस्त नेपालीहरुको चाड भएता पनि बिशेष गरी माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । थारू समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) तिलको लड्डु, हाँस, सितुवा, घुङ्गी, दुधपुवा, गंगटा, बाम माछा खाने चलन छ । माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ‘जिता मरना दिन’ भनिन्छ । पुष मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछा, लगायतको परिकार बनाएर जाँड रक्सीको साथ खानपिन गरेर रातभर नाचगान रमाइलो गर्ने प्रचलन छ । यतिबेला ‘सखियै हो, माघी पिली गुरी जार’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष ‘मघौटा’ नाच अघिपछि पनि लोकप्रिय छ ।
माघे संक्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ ।
यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ । यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई ‘तिलवाच्युरा’ पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा, चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ ।
फोटो फिचर:
तस्बिर: मनोज नेपाल
प्रतिक्रिया दिनुहोस्