पूर्वराजाको नयाँ वर्ष २०८२ को शुभकामना सन्देश
काठमाडौं,३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष ०८२ को शुभकामना सन्देश दिने क्रममा आफ्नो राजनीतिक, आर्थिक र नागरिक स्वतन्त्रताको विषयमा आफ्नो विचार राखेका छन् ।
वर्ष ०८१ को अन्तिम दिन शुभकामना सन्देश जारी गर्दै उनले आगामी वर्ष ०८२ नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने जोड दिएका छन् ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा विध्वंश भए पनि पूर्वराजा शाहको कुनै टिप्पणी आएको थिएन । आज भने शाहले त्यसप्रति आफूलाई दुःख लागेको अभिव्यक्ति दिए ।
उहाँले जारी गरेको १४ मिनेट लामो भिडियो वक्तव्यलाई अंग्रेजी सबटाइटलसमेत हालिएको थियो, जहाँ नेपालजस्तो संसारकै सुन्दर देशमा उत्पन्न वित्तीय संकटले युवा पलायन बढेकामा चिन्ता व्यक्त थियो । पृथ्वीनारायण शाहले अघि सारेका स्वाबलम्बनका मान्यतालाई जोड दिनुपर्ने पूर्वराजा शाहको भनाइ थियो ।
विश्व चरम मन्दीमा रहेका बेला आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेमात्रै उन्नति हुने बताए । नागरिकले भोगिरहेको आर्थिक संकटलाई ‘दल’ वा ‘वादको विवाद’ ले मात्रै सम्बोधन गर्न नसक्ने सम्बोधनमा उल्लेख छ ।
राजावादी प्रदर्शन विध्वंशात्मक बनेसँगै यसका केहि अगुवाहरु प्रहरी फन्दामा छन् । राप्रपाले ७ वैशाखमा अर्को प्रदर्शन आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्