उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं, पुस ८ । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका छन्।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले मंगलबार पदबाट राजीनामा दिएका हुन्।मंगलबार प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्रीलाई बुझाएको राजीनमापत्रमा यादवले आफ्नो पार्टीसँग भएको सहमति अनुसार संविधान संसोधन गर्ने सहमति पालना नभएको उल्लेख गरेका छन्।

यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव गरेका थिए।यादवले यस्तो प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनीबीच बैठकमा चर्काचर्की भएको थियो।

यादवले पहिचानमा आधारित संघीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, शासकीय स्वरुप, समानुपातिक समावेशिता, संघ, प्रदेश र स्थानीय तहको क्षेत्रअधिकारलगायतका विषयमा संविधान संसोधनका लागि अध्ययन गर्न ५ सदस्यीय विज्ञ समिति गठन गर्न प्रस्ताव गरेका छन्।


स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो ।

केही दिनअघिदेखि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको थियो । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्