सोमबार शेयर बजारमा छलाङ्ग

काठमाडौँ, ७ मंसिर । साताको दोस्रो दिन शेयर बजारमा छलाङ्ग मारिएको छ । दिनभरीमा बजार १७.७७ अङ्कको वृद्धिसँगै ११६८.५८ अंकमा उक्लिएको छ । कारोबार मापक सूचकसँगै कारोबार रकमसमेत आधा अर्ब रुपैयाँ भन्दा बढि भएको छ ।

उत्पादनमूलक कम्पनीमा सूचिकृत शिवम् सिमेन्टको बिजुलीको लाइन विद्युत प्राधिकरणले नकाट्ने निर्णय गरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताले खरिद बिक्री बढाएका छ ।

कम्पनीको शेयरमा आइतबारदेखि नै खरीद चाप बढाएका छ । शिवम् सिमेन्टले एक अर्व ६० करोड रुपैयाँ बराबरको बिद्युत महशुल प्रधिकरणलाई तिर्न बाँकी छ । यता नागरिक लगानी कोषले स्टक डिलरको काम गर्ने खबर आएसँगै लगानीकर्ता उत्साही हुँदा शेयर सूचक बढ्न थप टेवा पुगेको हो ।

खासगरी अर्थमन्त्री डा। युवराज खतिवडाको समय नथपिने विश्लेषणका आधारमा बजार उक्लिएको हो।

सोमबार १७७ कम्पनीका १७ लाख ५४ हजार कित्ता शेयर ५९ करोड ५७ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी शेयर कारोबार हुने कम्पनीको सूचिमा शिवम् सिमेन्ट छ। कम्पनीको पाँच करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबार रकमकै आधारमा नबिल बैंक दोस्रो भएको छ। बैंकको चार करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोमबार सबैभन्दा बढी कमाउने कम्पनीको सूचिमा नागरिक लगानी कोष अघि रहेको छ। उसको प्रति कित्ता शेयर मूल्य १० प्रतिशतले बढेको छ। कोषले स्टक डिलरको काम गर्ने खबरले लगानीकर्ताले कम्पनीको शेयरमा आकर्षण देखिएको हो।

सोमबार १२ समूहको शेयर कारोबार भयो। सामूहिक लगानी कोषको बाहेक सबै समूहका उपसूचक बढेका छन्। सामूहिक लगानी कोषको भने ०.९२ प्रतिशतले उपसूचक घटेको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको उप सूचक ५.११ प्रतिशतले बढेका छ । यसले अब बजार बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्