आरएसआईमा ट्रिपल टप संकेत, बजार कुन दिशातर्फ?
काठमाडौं, १५ साउन। सेयर बजारलाई लगानीकर्ताको मनोभावको ऐना मानिन्छ। लगानीकर्ता उत्साहित हुँदा बजार बढ्ने र डर तथा अन्योल बढ्दा बजार घट्ने प्रवृत्ति देखिन्छ। यस्तै मनोभाव मापन गर्ने लोकप्रिय प्राविधिक सूचकमध्ये एक हो रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (RSI)।
सन् १९७८ मा अमेरिकी प्राविधिक विश्लेषक जे. वेल्स वाइल्डर जुनियरले विकास गरेको यो सूचक अहिले विश्वभर सेयरको मूल्य कति तीव्र गतिमा बढिरहेको वा घटिरहेको छ तथा बजारको सम्भावित दिशा अनुमान गर्न प्रयोग गरिन्छ।
सबैभन्दा बढी प्रयोग हुने १४ दिने आरएसआईलाई तीन तहमा विश्लेषण गरिन्छ। ०–३० लाई ओभरसोल्ड (अवमूल्यन) अवस्था मानिन्छ, जसले अत्यधिक बिक्री दबाब र सम्भावित सुधारको संकेत दिन्छ। ३०–७० लाई सन्तुलित क्षेत्र मानिन्छ भने ७०–१०० लाई ओभरबट (अधिमूल्यन) अवस्था भनिन्छ, जहाँ बजारमा अत्यधिक खरिद भएको मानिन्छ।
नयाँ सरकार गठनपछिको करिब ७१ कारोबार दिनको आरएसआई विश्लेषणले बजारमा देखिएको प्रारम्भिक उत्साह टिक्न नसकेको देखाएको छ। यस अवधिमा १४ दिने आरएसआई एक पटक पनि ७० अंकभन्दा माथि पुग्न सकेन। केही समय ७० नजिक पुगे पनि त्यो सीमा पार गर्न असफल रह्यो।
बरु, एक चरणमा आरएसआई २ अंकसम्म झर्दा बजारमा चरम निराशा देखिएको थियो। त्यसपछि भने सूचक पुनः सुधार हुँदै अधिकांश समय ३०–७० को सन्तुलित क्षेत्रमा रह्यो।
हाल आरएसआई फेरि कमजोरीको संकेत देखाउन थालेको छ। पछिल्ला नौ कारोबार दिनमा सूचकले ६६, ६८ र पुनः ६६ को आसपास तीन पटक उच्च बिन्दु बनाएर घटेको छ। प्राविधिक विश्लेषणमा यसलाई ट्रिपल टप आकृति मानिन्छ, जसले बजारमा बिक्री दबाब बढ्न सक्ने संकेत दिन्छ।
आरएसआईमा देखिने यस्ता प्रवृत्तिलाई आगामी बजार दिशाको संकेतका रूपमा पनि हेरिन्छ। यदि सूचक साइडवेज दायराबाट तलतर्फ ब्रेक गर्छ भने बजारमा थप कमजोरी आउन सक्छ। विपरीत अवस्थामा माथितर्फ ब्रेक भए बजार सुधारको सम्भावना बलियो बन्न सक्छ।
अहिले बजारलाई माथि र तल दुवै दिशातर्फ लैजान सक्ने आधारहरू लगभग बराबरी देखिन्छन्। घट्दो ब्याजदर, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुने समय र धेरै कम्पनीको मूल्य न्यून स्तरमा रहनु बजारका लागि सकारात्मक पक्ष हुन्।
अर्कोतर्फ, पछिल्लो समय तराई क्षेत्रमा देखिएको अशान्ति, सरकारप्रति लगानीकर्ताको घट्दो विश्वास तथा अन्य प्राविधिक सूचकहरूले भने बजारमा दबाब कायम रहेको संकेत गरिरहेका छन्।
विशेषगरी, ५० दिने र २०० दिने मुभिङ एभरेजबीच देखिएको डेथ क्रसओभर अझै कायम रहेकाले प्राविधिक रूपमा बजार पूर्ण रूपमा सकारात्मक मोडमा फर्किएको संकेत देखिएको छैन।
अब आगामी दिनमा सकारात्मक र नकारात्मकमध्ये कुन पक्ष बलियो बन्छ, त्यसले नै बजारको नयाँ दिशा तय गर्ने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्