नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ७५ करोड पुग्यो

काठमाडौं, १५ साउन। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेर बन्द भएको हो।

नेप्से बढेसँगै कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ। बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

यस दिन ३३७ वटा धितोपत्रको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर खरिद–बिक्री भएको छ।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये १८० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ वटा कम्पनीको सेयर मूल्य घटेको छ। १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

एभरेस्ट कलरको मूल्य सर्वाधिक बढ्यो

शुक्रबार एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार ३०९ रुपैयाँ ३० पैसा पुगेको छ।

त्यस्तै, लक्ष्मी भ्यालु फण्डको मूल्य ८ प्रतिशतले बढेर प्रतिइकाइ मूल्य ९ रुपैयाँ ८६ पैसा कायम भएको छ।

यता बोटलर्स नेपाल तराईको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको मूल्य ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता ११ हजार रुपैयाँमा झरेको छ।

त्यसैगरी, कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य ३.५५ प्रतिशतले घटेर प्रतिकित्ता ८७० रुपैयाँमा सीमित भएको छ।

रिडी पावरको सर्वाधिक कारोबार

शुक्रबार रिडी पावरको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ३७० रुपैयाँका दरले १७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

रिडी पावरको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशतले बढेको छ।

सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकको १५ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

अधिकांश समूहगत परिसूचक बढे

शुक्रबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ।

बाँकी सबै समूहका परिसूचक बढ्दा समग्र नेप्से परिसूचक सकारात्मक बनेको हो।

प्रतिक्रिया दिनुहोस्