सेयर बजारमा सर्ट सेलिङ चरणबद्ध रूपमा लागू गर्ने तयारी, पहिले मार्जिन कारोबार र सापटी प्रणाली सुधार गरिने

काठमाडौं, १५ साउन। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सर्ट सेलिङ (सेयर बिक्री गरेर पछि खरिद गर्ने व्यवस्था) लागू गर्नुअघि आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन प्रणाली र नियामकीय संरचना तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

धितोपत्र बोर्डले तयार पारेको अवधारण पत्रमा बजारको जोखिम व्यवस्थापन, प्रभावकारी सुपरिवेक्षण र राफसाफ प्रणाली सुदृढ नगरी सर्ट सेलिङ लागू गर्दा बजारमा जोखिम बढ्न सक्ने उल्लेख गर्दै यसलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना अघि सारेको हो।

अवधारण पत्रअनुसार पहिलो चरणमा हाल कानुनी व्यवस्था भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको मार्जिन कारोबारलाई व्यवस्थित रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेछ।

मार्जिन कारोबारमार्फत लगानीकर्ताले नियन्त्रित र सुरक्षित रूपमा ऋण लिएर लगानी गर्न सक्ने व्यवस्था गरिनेछ। यस्तो सुविधा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत उपलब्ध गराइनेछ भने ब्रोकरले बैंक तथा वित्तीय संस्थाबाट आवश्यक स्रोत जुटाउनेछन्।

मार्जिन कारोबारलाई प्रभावकारी बनाउन स्वचालित मार्जिन गणना प्रणाली, दैनिक बजार मूल्यका आधारमा मूल्यांकन (मार्क टु मार्केट), मार्जिन कल तथा आवश्यक परे धितोपत्र बिक्री गर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने अवधारण पत्रमा उल्लेख छ।

धितोपत्र सापटी प्रणालीपछि मात्रै सर्ट सेलिङ

बोर्डले धितोपत्र सापटी तथा उधारो (सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ) प्रणाली स्थापना भएपछि मात्र सर्ट सेलिङ लागू गर्नुपर्ने जनाएको छ।

सर्ट सेलिङ गर्दा सम्बन्धित धितोपत्र पहिले नै सापटी लिएको सुनिश्चित गर्नुपर्नेछ। सापटी नलिई गरिने ‘नेकेड सर्ट सेलिङ’ कारोबारलाई अनुमति नदिने प्रस्ताव गरिएको छ।

अवधारण पत्रमा सर्ट पोजिसनको निरन्तर निगरानी गर्ने, समयमै धितोपत्र फिर्ता गर्न नसके बजारबाट खरिद गरेर उपलब्ध गराउने ‘बाइ–इन’ व्यवस्था लागू गर्नुपर्ने उल्लेख छ।

भारतमा समेत नेकेड सर्ट सेलिङमा प्रतिबन्ध रहेको उदाहरण दिँदै प्रारम्भिक चरणमा उच्च तरलता भएका सीमित धितोपत्रमा मात्र यस्तो कारोबार सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।

आवश्यक प्राविधिक पूर्वाधार विकास गरिने

सर्ट सेलिङ प्रणाली सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ, बैंक तथा वित्तीय संस्था र धितोपत्र दलाल व्यवसायीबीच समन्वय आवश्यक रहेको बोर्डले जनाएको छ।

यसका लागि संयुक्त कार्यान्वयन समिति गठन गर्ने, प्रत्येक चरण पूरा भएपछि नियामकीय समीक्षा गरेर मात्र अर्को चरणमा जाने प्रस्ताव गरिएको छ।

धितोपत्र सापटी तथा उधारो प्रणाली सञ्चालनको जिम्मेवारी सिडिएस एन्ड क्लियरिङलाई दिने, छुट्टै नियमावली जारी गर्ने, सापटी दिने र लिने पक्षको दर्ता गर्ने तथा सापटी शुल्क निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने अवधारण पत्रमा उल्लेख छ।

साथै, सापटी फिर्ता हुन नसक्ने अवस्थाबाट उत्पन्न जोखिम व्यवस्थापनका लागि कानुनी व्यवस्था आवश्यक रहेको बोर्डले औंल्याएको छ।

बजार दुरुपयोग रोक्न कडा निगरानी

धितोपत्र बोर्डले सर्ट सेलिङ जोखिमयुक्त कारोबार भएको भन्दै यसको दुरुपयोग हुन नदिन कडा निगरानी आवश्यक रहेको जनाएको छ।

विशेषगरी सेयर मूल्य कृत्रिम रूपमा घटाउने गतिविधि, झुटा सूचना तथा अफवाह फैलाउने, बजार प्रभावित गर्ने र भित्री सूचनाको दुरुपयोग गरी गरिने सर्ट सेलिङ नियन्त्रण गर्न प्रभावकारी नियमन आवश्यक पर्ने अवधारण पत्रमा उल्लेख छ।

सर्ट सेलिङ कार्यान्वयनका प्रस्तावित चरण

  • पहिलो चरणमा मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो र सर्ट सेलिङसम्बन्धी नियमावली जारी गरिने।
  • नेप्से र सिडिएस एन्ड क्लियरिङले आवश्यक प्राविधिक प्रणाली विकास गर्ने।
  • धितोपत्र व्यवसायीको क्षमता अभिवृद्धि तथा लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरिने।
  • त्यसपछि मार्जिन कारोबारलाई प्रभावकारी रूपमा लागू गरिने।
  • धितोपत्र सापटी तथा उधारो सेवा सञ्चालन गरिने।
  • अन्तिम चरणमा मात्र सर्ट सेलिङ सुरु गरिने।

बोर्डले सर्ट सेलिङलाई बजारको विकासका लागि उपयोगी उपकरण बनाउन जोखिम व्यवस्थापन र पारदर्शी प्रणालीलाई प्राथमिकता दिनुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्